काठमाडौं । बार्सिलोनाका पूर्व सहकर्मी लिओनल मेसी र नेमार आइतबार हुने कोपा अमेरिकाको फाइनलमा एकापसमा भिड्दैछन् । दुवै खेलाडी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छन् ।ब्राजिलका पेले र अर्जेन्टिनाका डिएगो म्याराडोना जस्तै मेसी र नेमारले पनि अहिलेसम्म कोपा जित्न सकेका छैनन् । रियो दि जेनेरेयोस्थित आइकोनक माराकान स्टेडियममा फाइनल हुँदा यो तथ्य अब एक खेलाडीका लागि भने परिवर्तन हुनेछ । ६ पटकका बालोन डे ओर विजेता मेसी चौथो पटक कोपा अमेरिका फाइनल खेल्दैछन् । र, सम्भवतः उनका लागि उपाधि जित्न यो अन्तिम अवसर हुन सक्छ । ब्राजिलमै भइरहेको ४७औं संस्करणको कोपामा मेसीले आफ्नो टिमको लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनले ४ गोल गर्नुका साथै ५ गोलका लागि अवसर बनाएका छन् । दुवै विधामा उनी शीर्ष स्थानमा छन् । अधिकांशले भन्ने गरेका छन्– अर्जेन्टिनाका लागि केही जित्नु नै मेसीको लागि बाँकी रहेको व्यावसायिक लक्ष्य हो । ‘हामी उनलाई यो लक्ष्य पूरा गर्नबाट रोक्नेछौं,’ ब्राजिलियन सेन्टर ब्याक माक्र्विन्हवसले भनेका छन्, ‘मेसीले जस्तै हामीसँग पनि त्यस्ता खेलाडी छन् जो उपाधि जित्न लायक छन् । हाम्रो आफ्नै ने (नेमार) जस्तै जो पछिल्लो पटक कोपामा थिएनन् ।’