अमेरिकामा करिव दुई करोड मानिसमा कोरोना संक्रमण भैसकेको हुनसक्ने अनुमान गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल ‘सीडीसी’ले बास्तविक संक्रमितको संख्या अहिले पुष्टि भएकाभन्दा दश गुणा बढी हुनसक्ने जनाएको हो । सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले लक्षण देखिएकाको मात्रै परीक्षण गरिएकाले बास्तविक संक्रमितको संख्या खुल्न नसकेको बताएका हुन् । मार्च, अप्रिल र मे महिनामा महामारीको १० प्रतिशत मात्रै पहिचान गर्न सकेको उनको भनाइ छ । अमेरिकाको कुल जनसंख्याको पाँचदेखि आठ प्रतिशतसम्म जनसंख्या भाइरसको सम्पर्कमा आइसकेको सीडीसीको भनाइ छ । संक्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सस राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला पछिल्लो तथ्यांक सार्वजनिक भएको हो । अमेरिकामा संसारकै सबैभन्दा बढी २५ लाखभन्दा बढीमा सङ्क्रमण देखिएको छ ।
केही दिनदेखि दक्षिणी र पश्चिमी राज्यका केही क्षेत्रमा संक्रमितको संख्या ह्वातै बढेको छ । वाशिङ्गटन विश्वविद्यालयले आगामी अक्टोबर महिनासम्ममा एक लाख असी हजारको मृत्यु हुने अनुमान गरेको छ ।