अनेरास्ववियुले निजी क्षेत्रबाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन–प्याब्सनले विद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी लकडाउनको कष्टकर बेलामा पनि शुल्क असुल्ने अभिप्राय स्वरुप जारी गरिएको संयुक्त अपिलप्रति आपत्ति जनाएको छ ।
कोरोना कहरका कारण लकडाउनले गर्दा आमविद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात् शुल्क उठाउने निजी विद्यालय संचालकहरुको आह्वानको अनेरास्ववियुले घोर निन्दा र भर्त्सना गरेको छ ।
अनेरास्ववियुका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सवैलाई थाहा छ यतिबेला लकडाउनका कारण मुलुकमा झण्डै ९० लाख विद्यार्थीहरु शिक्षालय जानवाट रोकिएका छन् । अझ विद्यालय तहमा कलिला वालवालिकाहरु पढ्ने भएकाले कोरोना कहरका दृष्टिले विद्यालय क्षेत्र झनै संवेदनशील छ । लकडाउन केही खुकुलो हुँदै गएपनि उक्त संवेदनशीलताका कारण शिक्षा क्षेत्र सवैभन्दा ढिलो खुल्नु पर्ने परिस्थिति विद्यमान छ ।यस्तो विषम परिस्थितिमा सरकारले लिएको नीति र विद्यार्थी अभिभावकहरुले वेहोरिरहेको संकटलाई पुर्ण रुपमा वेवास्ता उठाउने आह्वान आपत्तिजनक छ ।’
अनेरास्ववियूले कोरोना कहरको त्रासदी, अभिभावकको विकाराल अवस्था र विद्यार्थीको तनावपूर्ण मनोविज्ञानलाई पूर्णरुपमा उपेक्षा गरी विद्यालय बन्द रहेका बेला शुल्क माग्न गरिएको अपिललाई अवज्ञा गर्न अभिभावक र विद्यार्थीलाई आह्वान गरेको छ । विज्ञप्तिमा यसप्रकारको असान्दर्भिक र अव्यावहारिक निर्णय तत्काल फिर्ता लिनसमेत निजी विद्यालयसँग आग्रह गरेको छ । प्याब्सन र एनप्याब्सनले विद्यालयमा उपस्थित भई सामाजिक दूरी कायम गरी विद्यार्थीको भर्ना अभिलेख अद्यावधिक गर्न २०७६ सालको बाँकी बक्यौता सम्भव भएसम्म चुक्ता गर्न, २०७७ सालको विद्यालयमा बुझाउनुपर्ने शुल्क भुक्तानी गर्न आइतबार सूचना प्रकाशित गरी अपिल गरेका थिए ।