कुवेतबाट उद्धार गरी ल्याइएकी फिदिम नगरपालिकाकी २५ वर्षीया युवतीको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँचथर बहुमुखी क्याम्पसको क्वारेन्टिनमा गत जेठ ३२ गतेदेखि उनी बसेकी थिइन् । उनको सोमबार स्वाब सङ्कलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा पठाइएकोमा आज रिपोर्ट आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले बताएका छन् ।
कुवेतबाट उद्धार गरी ल्याइएकी उनलाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा राखेर पाँचथर पठाइएको थियो । उनीसँगै विभिन्न मुलुकबाट उद्धार गरेर जिल्लामा ल्याई उक्त क्वारेन्टिनमा राखिएका अन्य तीन जनामा भने कोरोना सङ्क्रमण देखिएको छैन ।