मुग्लिन सडकखण्डका धसिएका दुई स्थानको सडक दुई वर्ष पुग्दा पनि मर्मतसम्भार हुनसकेको छैन ।सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएका थिए ।
मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनीयर शिव खनालका अनुसार १७ किलोमा चारदेखि चार दशमलव पाँच मिटर फराकिलो ४० मिटर लामो क्षेत्र धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ ।
त्यसैगरी २६ किलोमा छ दशमलव पाँच मिटर फराकिलो सडक ७० मिटरसम्म भासिएको छ । यस क्षेत्रमा सडक १२ मिटर फराकिलो रहेको छ ।
दुवै क्षेत्रमा दुईवर्ष अघि असारमा सडक भासिएको हो । सडक साँघुरो हुँदा सहज दुईतर्फी सञ्चालनमा कठिनाइ भएको छ ।
ती दुवै क्षेत्रमा विसं २०६० मा सडकमुनिबाट एङ्कर पर्खाल दिएर निर्माण गरिएको थियो । त्यसैमा समस्या आएको जनाइएको छ ।
ती क्षेत्रमा तलबाट त्रिशूली नदीले काटेका कारण एङ्कर पर्खालले काम गर्न छाडेको हो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माले मर्मतका लागि दुईपटक बोलपत्र आह्वान गर्दा समेत कोही पनि नआएको बताए ।