अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ । झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए ।
भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार शुक्रबार सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको सर्लाहीका सिडिओ मोहनबहादुर जिसीले बताए । ।