लकडाउनपछि मदिरा बिक्री रोकेको सरकारले राजस्व उठाउन अघोषित रुपमा मदिरा बिक्री सुरु गरेको छ । राजस्वमा सबैभन्दा बढी योगदान गर्ने मदिराको बिक्री वितरण चैत ११ पछि रोकिएको थियो।
अर्थमन्त्री डा. युवराज खतिवडाको ठाडो निर्देशनमा बजेट आउनु दुई दिन अघिदेखि मदिराको बिक्री खुला गरिएको अर्थ स्रोतले जानकारी दिएको छ ।
आन्तरिक राजस्व विभागले मदिरा बिक्रीमा अवरोध नगर्न पत्रचार समेत गरेको छ । राजस्व नउठेका कारण तलब खुवाउनै सकस परेपछि खतिवडाले कुन ठाउँबाट राजस्व असुल्न सकिन्छ भन्ने अर्थका सबैसँग सल्लाह गरिरहेका थिए । अर्थका अधिकारीको सल्लाहलाई अनुशरण गर्दै खतिवडाले मदिरा बिक्री खुलाएका हुन् ।
स्रोतका अनुसार मदिराबाट सरकारले ठूलो मात्रामा अन्तशुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर पाउँदै आएको थियो । तर, कोरोना भाइरसको संक्रमण कम गर्न मुलुक लकडाउन गरेपछि मदिरा बिक्री ठप्प भएको थियो।
अहिले अर्थमन्त्री खतिवडाको निर्देशनमा मदिरा बिक्री खुला गरिएको हो । बजेटबाट मदिराजन्य क्षेत्रमा व्यापक कर बढ्ने थाहा पाएपछि केही व्यापारीले मदिरा किनेर थुपारेका पनि थिए ।
लकडाउनकै बीचमा सरकारले जेठ २५ गते सम्पूर्ण कर विवरण बुझाउन करदातालाई निर्देशन गरेको थियो । त्यसको चौतफी विरोध भएपछि सरकारले असार ७ र १५ गतेसम्मको समयसीमा तोकेको छ ।