काठमाडौँ – सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् । कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी लकडाउन जेठ मसान्तसम्म लम्ब्याएको छ । तर राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकता गर्दै अन्यथा जरिबाना लाग्ने सूचना निकालेपछि व्यवसायीहरुमा छटपटाहट पैदा भएको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अहिले कर तिर्न सक्ने अवस्थामा व्यापारीहरु नरहेको बताउनुभयो । उहाँले लकडाउनका बेला सरकारले कर माग्ने, घरधनीले भाडा माग्ने, बैंकहरुले ब्याज र किस्ता माग्ने गरेपछि व्यवसायीहरुमा संकट पैदा भएको बताउनुभयो । सरकारले व्यवसायीका पिर मर्का बुझ्नुपर्ने उहाँले माग गर्नुभयो ।
अध्यक्ष कटुवालले सरकारले करका लागि ताकेता गरिरहे व्यवसायीहरुले सटरका तालाचाभी नै सरकारलाई बुझाउने चेतावनी दिनुभयो । अहिले व्यापार व्यवसाय सबै ठप्प रहेका बेला व्यापारीलाई निचोरेर केही नझर्ने उहाँको जिकिर छ । सरकारले कर तिरेन भन्दै थुन्न खोजे पनि व्यवसायीहरु त्यसका लागि विवश हुने परिस्थिति रहेको अध्यक्ष कटुवालले बतउनुभयो।