प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले रुकुम घटनाको छानविनका लागि संसदिय समिति गठन नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । प्रतिनिधिसभामा कांग्रेस सांसद मानबहादुर विश्वकर्माले घटनाको निष्पक्ष छानविनका लागि दलित सांसदको नेतृत्वमा समिति तत्काल गठन गर्न गरेका हुन् ।
चौरजहारीमा भएको घटनामा संयुक्त राष्ट्रसंघले समेत निष्पक्ष छानबिनको माग गरिरहेको उल्लेख गर्दै सांसद विश्वकर्माले संसदिय समितिबाट छानबिन हुनुपर्ने बताए ।
प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसलगत्तै सांसद विश्वकर्माले आफ्नो धारणा राखेका हुन् । गम्भिर घटना भएपनि गृहमन्त्रीले साधारण कर्मचारीको अध्यक्षतामा बनाएको छानविन समितिले न्याय दिन नसक्ने विश्वकर्माको दावी छ ।
पश्चिम रुकुमको चौरजहारीमा रहेको आफ्नी प्रेमिकाको घर पुगेका जाजरकोटका नवराव विकको मृत्यु भएको थियो । उनीसँगै अन्य ५ जना साथीको पनि मृत्यु भएको थियो । गाउँलेको आक्रमणबाट उनीहरुको मृत्यु भएको अझै पनि एकजना बेपत्ता रहेको भन्दै सो घटनाको छानविन गर्न कांग्रेसले माग गरेको हो ।