
बागलुङस्थित धौलागिरि अस्पतालले कोरोना संक्रमितको उपचार बापतको रकम भन्दै १ करोड ५३ लाख रुपैयाँ माग गरेपछि गण्डकी प्रदेशमा हलचल मच्चिएको छ । सो अस्पतालले दुई जना कोरोना संक्रमितको उपचार गरेको थियो ।
प्रदेश सांसदहरुले दुई जनालाई निको बनाउँदा यत्रो खर्च आएको भन्दै हजारौ संक्रमित हुँदा सरकारले व्ययभार धान्न सक्ला त भनी प्रश्न गर्न थालेका छन् ।
अस्पतालले १ करोड ५३ लाख रुपैयाँ माग गरी प्रदेशको सामाजिक विकास मन्त्रालयमा जेठ ११ गते पत्राचार गरेको छ । संक्रमणको शंका लागि आइसोलेसनमा राखिएका वा संक्रमण पुष्टि भई उपचारमा रहेका बिरामीको उपचारमा प्रत्यक्ष संलग्न जनशक्ति तथा संक्रमणको शंकास्पद तथा पुष्टि भएका बिरामीको नमुना संकलन गर्ने जनशक्तिलाई नेपाल सरकारले तोकेको सुरु तलब स्केलको शतप्रतिशत भत्ता दिने नेपाल सरकारको कार्यविधिमा उल्लेख गरिएको छ । उपचारमा अप्रत्यक्ष संलग्न र इमेजिङ सेवा प्रदायक जनशक्तिलाई तलबको ७५ प्रतिशत र बिरामीको ओसारपसार तथा नमुना ओसारपसार गर्नेलाई ५० प्रतिशत दिने उल्लेख छ । अस्पतालले १ सय ६९ जनाको चैत, वैशाख, जेठ र असारको प्रतिमहिना ३८ लाख २९ हजार ५ सय ३९ का दरले प्रोत्साहन भत्ता माग गरि पठाएको छ ।