काठमाडौँ ७ जेठ । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध र उपचारका क्रममा रहेकी ३२ वर्षीया एक महिलाको नतिजा नेगेटिभ आएको हो ।
परोहा नगरपालिका–८ नर्कटिया रौतहटका उनी सोमबार राति अस्पताल आएका थिए । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । सघन उपचार कक्षमा उपचार हुँदाहुँदै उनको मङ्गलबार बिहान मृत्यु भएको थियो । चार महिनाअघिदेखि क्षयरोगको सङ्क्रमण र क्यान्सरको समस्या देखिएका कारण उनी भरतपुर अस्पताल आइपुगेको अस्पतालले जनाएको छ ।