काठमाडौं । सरकारले लकडाउनलाई आजदेखि पुनः कडाइका साथ लागू गरेको छ । लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो । उपत्यकामा टाइम कार्ड लागू गरी कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिएको थियो ।
लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढेको छ । कोरोना भाइरस संक्रमण फैलने सम्भावना उच्च भएपछि बिहीबार (आज) देखि पुनः लकडाउनलाई कडाईका साथ लागू गरेको छ । जसका कारण फेरि जनजीवन प्रभावित भएको छ ।
उपत्यकाका भित्री सडकहरुमा अत्यावश्यक उपभोग्य खाद्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरेको देखिन्छ । यस्तै कतिपय भित्री सडकहरुमा स्थानीयहरुले बाटो बन्द गरेका छन् । अनावश्यक सवारी सधनको आवागमन भित्री सडकबाट हुन थालेपछि स्थानीयले बाटो छेकबार गरी बन्द गरिदिएका छन् । यस्तै अपरिचित व्यक्तिलाई प्रवेश निषेध लेखिएका ब्यानरहरु बाटोमा राखिएको देखिन्छ ।
चैत ११ गतेदेखि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको लकडाउनको आज ५२ औं दिन हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आजसम्म २ सय ४६ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । जसमध्ये ३५ जना निको भएका छन भने २ सय ४६ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म २१ हजार ३ सय ६६ पीसीआर प्रविधिबाट परीक्षण भएको छ भने ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण भएको छ । अहिले देशभर १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा रहेका छन्