काठमाडौं, बैशाख २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पाँचौँ राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्रको १२० वर्ष प्रवेशको सन्दर्भमा शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको उल्लेख गर्दै पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा रहेको स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री ओलीले लकडाउनको कठिन परिस्थितिमा पत्रकार एवं सञ्चारकर्मीले गरिरहेको कार्यसम्पादनप्रति सम्मान पनि व्यक्त गरे । “प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ । प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानवअधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर रहेको छ”, सन्देशमा भनिएको छ, “परम्परागत र नयाँ विद्युतीय आमसञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म आधारहीन सामग्री सम्प्रेषण हुन नदिन सबैभन्दा पहिले पत्रकार एवं सञ्चारकर्मी नै सजग हुनुपर्छ ।”
नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको जनाउँदै उनले सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख भएको र नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको पनि जनाए । प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दो सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुने विश्वास पनि उनले व्यक्त गरेका छन् ।