सरकारले आगामी आर्थिक वर्षको बजेट कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गर्ने गरी ल्याउने तयारी गरिरहेको जनाएको छ।
लकडाउनका कारण राजश्व सङ्कलनमा ठूलो ह्रास आउनुका साथै विप्रेषण पनि अपेक्षित रुपमा नभित्रिएकाले अन्तर्राष्ट्रिय सहायता परिचालन गरेर बजेट निर्माणमा सरकार जुटेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
लकडाउन अवधिमा पनि आगामी आर्थिक वर्षको बजेटलगायत विषयमा सङ्घीय संसद्को अर्थ समितिले आज छलफल गरेको हो। छलफलका क्रममा मन्त्री डा खतिवडाले मुलुकको समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिए।
पछिल्ला दिनमा अन्तर्राष्ट्रिय सहायता परिचालनलाई सरकारले जोड दिएको जानकारी दिँदै उनले दाताबाट उल्लेख्य प्रतिबद्धता प्राप्त भएको स्पष्ट पारे। अर्थमन्त्री डा खतिवडाले स्वास्थ्य पूर्वाधार, स्वास्थ्य सेवा, राहतलगायतका काममा झण्डै एक खर्ब ५० अर्ब जतिको सहायतामा सम्झौता भइसकेको जानकारी दिए।
उनले भने “अरु केही नयाँ सम्झौता पनि हुने चरणमा रहेका छन्, आन्तरिक राजश्वमा आएको कमीलाई परिपूर्ति गर्ने गरी वैदेशिक सहायता परिचालन गर्ने गरी हामी जुटिरहेका छौँ।’ समयमै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द गरिएकाले नेपाल कोरोना सङ्क्रमणको उच्च जोखिमबाट बच्न सफल भएको उनको भनाइ छ।
सीमा नाकाबाट भइरहेका ओहोरदोहोरका कारण हुने सङ्क्रमणका जोखिम अहिले पनि देखिएको भन्दै उनले समयमै सीमानाका बन्द नगरिएको भए आज थप भयावह अवस्था आउने बताए।