भक्तपुर। शुक्रबारको दिन। काठमाडौंको झरिलो मौसम्। मध्यान्हको करिव साढे १२ बजेको थियो। भक्तपुरको थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल बाहिर साइरन बजाउँदै आधा दर्जन एम्बुलेन्स हुँइकिएर आए।
एम्बुलेन्सको लस्कर देखेर अस्पताल वरपरका मानिस छक्क परे। घरको छत–छतबाट चियाएर हेर्न थाले। त्यत्तिकैमा एम्बुलेन्सबाट एक-दुई गर्दै १७ जना कोरोना भाइरसका संक्रमितलाई निकालेर आइसोलेसन वार्डमा लगियो। तस्बिर खिच्नका लागि पत्रकारहरूको तछाडमछाड नै भयो।
बेपरवाह भएर सबै तस्बिर खिच्न झुम्मिए। सामाजिक दूरी मिचियो। त्यसरी कोरोनाका बिरामी आउँदा अस्पतालका कर्मचारीलाई पनि हम्मेहम्मे पर्यो। कसलाई कसरी व्यवस्थित गर्ने उनीहरू निकै सकसमा देखिन्थे।
एकै पटक ६ वटा एम्बुलेन्स आउँदा सुरुमा त उनीहरूलाई के गर्ने, कसो गर्ने भयो। दुई वटा एम्बुलेन्स अस्पतालको इमरजेन्सी अगाडि नै रोकिए। तत्कालै उनीहरूलाई गेट बाहिर पठाइयो। र, ती एम्बुलेन्सबाट पनि कोरोनाका बिरामीलाई निकालियो।
उनीहरूलाई तत्काल आइसोलेसनमा लगेर उपचार थालियो। कोही बिरामी खोकिरहेका थिए। कोही काँपिरहेका थिए। कसैलाई कोरोनाको कुनै लक्षण देखिएको थिएन। तर, पिसिआरबाट कोरोना पोजेटिभ देखिएको थियो। कोही र्यापिड टेस्टमा पोजेटिभ देखिएकाहरू पनि आफूमा कारोना भए नभएको पुष्टि गर्न आएका थिए।
तिनै १७ जना मध्ये कोही विदेशबाट आएर होम क्वारेन्टाइनमा बस्दासम्म पनि कुनै लक्षण नदेखिएपछि ‘ढुक्क’ हुनका लागि जँचाउन आएका थिए। किनकि विदेशबाट आएको लामो समयपछि पनि भाइरसको संक्रमण पुष्टि भएको छ।
यसरी विभिन्न प्रकृतिका कोरोना संक्रमित आउँदा चिकित्सकहरू भने उनीहरूको उपचारमा व्यस्त थिए। सत्य जस्तै लाग्ने यो दृश्य वास्तविक भने होइन।