समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफु कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताएका छन् । नेता राईले पछिल्लो समय आफुहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताए । बिहीबार न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै पूर्वमन्त्री समेत रहेका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पारे ।
उनले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफुले थाहा पाउन नसकेको समेत बताए । उनले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताए । उनले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशीको कुरा भएको समेत बताए । उनले भने, ‘एउटा उत्पीडित वर्ग, समुदायले र आम नेपालीले देखेको जुन सपना थियो, जुन संघर्ष गर्ने शक्तिहरु थिए एकठाउँमा यो घटनाले ल्याइदिएको छ ।एउटा खुशीको खबर हो । यसबाट जनतामा र मेरो मतदातामा र हाम्रो पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा झनै उत्साह र उर्जा थपिएको छ । यसले थप मद्दत पु¥याउने छ र सम्पूर्ण उत्पीडित शक्तिहरुलाई एकजुट भएर सघाउन पनि अपिल गर्न चाहन्छु ।’
उनले भने, ‘जुन पार्टीभित्र फरक मत राख्ने व्यक्तिहरुलाई अहिलेको नेपाली राजनीतिमा प्रचलन के छ भने फरक मत राख्ने भनेको यो पार्टी विभाजन नै या फरक धारणा नै सिर्जित भएर जान्छ । यो खास गरेर हामी जस्ता दलहरुमा अनि अरु ठाउँमा त ठूला दलमा फरक धारणा राख्ने र खुल्लै बक्तव्य जारी गर्ने भन्ने नेताहरु छन् । त्यसमा चाहिँ मिडियाको ध्यान पर्दैन । तसर्थ यो दुर्भाग्यपूर्ण कुरा हो । मेरो केही कुराहरुमा फरक धारणा हो । त्यो फरक धारणालाई पाँच दिन अगाडि मैले भनेको थिए यो पार्टी विभाजन होइन भनेर भनेको थिए ।