महोत्तरीसहित तराईका जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि हुने भएको छ ।
यसवर्ष आँपको रुखमा सबैतिर मज्जर (आँपको फूल) बढी मात्रामा लागेको देखेर किसान हर्षित भएका छन् । तर सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण आँपमा छर्ने औषधिको अभाव देखिएको छ ।
फलस्वरुप आँपमा छर्न नपाएपछि मधुवा किराको प्रकोपले मज्जर र चिचिला झर्ने र उप्पादन घट्न सक्ने चिन्ताले किसानलाई सताएको छ ।
किसानहरु भन्छन, “माघ गुज्रियो, फागुनमा आँपमा मज्जर (फूल) लाग्यो र चैतमा अत्यधिक टिकोला (चिचिरा) देखिनु उत्पादन बढने सङ्केत हो । तर लकडाउनका कारण औषधि छर्न नपाएपछि मधुवा किराको प्रकोपले उप्पादन घट्न सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।
लकडाउनका कारण किसानहरुले बगैंचालाई नियमित खनजोत, सिँचाइ तथा मलखादको प्रयोग गर्न समेत पाएका छैनन् । मधुवा रोगको दीर्घकालिन समाधानका लागि सरकारी स्तरबाट हालसम्म कुनै प्रयास भएको देखिदैन ।
लकडाउनका कारण प्राविधिक पहुँचबाट बञ्चित रहेका महोत्तरीका किसानहरु मधुवा रोगबाट बच्नका लागि बजारमा औषधिसमेत खरिद गर्न सकिएको छैन् ।