ललितपुर महानगरपालिकालाई नेपाल फुटबल संघ एन्फाले कोरोना संक्रमण र नियन्त्रणका लागि प्रयोग गर्न दिएको दुईवटा एम्बुलेन्स मध्ये एउटा अन्य रोगको बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गर्ने निर्णय गरिएकोे महानगरपालिकाले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सुविधा सम्पन्न ती एम्बुलेन्स मध्ये वा २२. च २१०६ कोभिड १९को लक्षण देखिएका बिरामीका लागि र बा.२२. च २१०७ अन्य रोगका बिरामीका लागि व्यवस्था गरिएको छ । ’
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले एउटा एम्बुलेन्स कोरोना भाइरस संक्रमितका लागि ‘स्ट्याण्ड बाइ’ राखेको बताउँदै भने, ‘अन्य रोगका बिरामीलाई अस्पताल पुग्न लकडाउनका कारण समस्या भयो भन्ने जानकारी पायौं ,त्यसैले अन्य बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरेका हौं ।’
वडा नं २४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले अन्य रोगका बिरामीलाई अस्पताल पुग्न अब सहज हुने बताए ।उनले महानगरको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सक्ने बताए । कार्कीका अनुसार बिरामीले एम्बुलेन्स सेवा निशुल्क प्राप्त गर्नेछन् ।कोरोना संक्रमण नियन्त्रणमा आएपछि एम्बुलेन्स एन्फालाई नै फर्काउने गरी एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले केही दिन अघि सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।