नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले कोरोना प्रभावितहरुलाई सहयोगका लागि ३० लाख ३६ हजार रकम प्रदान गरेका छन् । आफ्नो गाउँ तथा आफूले चुनावमा प्रतिस्पर्धा गरेको मोरङको क्षेत्र नं.३ का कोरोना प्रभावितहरुलाई राहतका लागि डा.शर्माले सोे रकम सहयोग गरेका हुन् । यो रकम १ नम्बर प्रदेशमा हालसम्म एकै व्यक्ति वा सस्थाले प्रदान गरेको मध्ये सर्वाधिक ठूलो सहयोग राशि हो ।
क्षेत्र नं.३ मा पर्ने बेलबारी, पथरी शनिश्चरे र सुन्दरहरैंचा नगरपालिका कार्यालयको राहत कोषमा जम्मा हुँनेगरी डा.शर्माले उक्त रकम बिहिबार बेलबारीमा नगर प्रमुखहरुलाई हस्तान्तरण गरेका हुन् । उनले बेलबारीका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीलाई ११ लाख ७५ हजार, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राईलाई ९ लाख ८६ हजार र सुन्दरहरैंचा नगर प्रमुख शिवप्रसाद ढकाललाई ८ लाख ७५ हजारको चेक हस्तन्तरण गरे । चेक हस्तान्तरण पछि बोल्दै डा.शर्माले यो संकटका बेला आफ्नो ठाउँका कोरोना प्रभावित गरिब, दुखीलाई राहत पुर्याउँन सहयोग गरेको प्रतिक्रिया दिए ।