काठमाडौं । नायक पल शाहले लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरे । उनको यो घोषणा संगै सामाजिक सञ्जाल र समाचारहरुमा निकै प्रशंसा भयो । नायक पल शाहले पनि सामाजिक सञ्जाल मार्फत नै यो कुराको घोषणा गरेका थिए । उनको यो घोषणासंगै तारिफका कमेन्ट उनकै सामाजिक सञ्जालमा भरिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकलाई सहयोग गर्ने बताए ।त्यस्ता ब्यक्तिलाई सहयोग गर्न सरकारले आर्थिक सहयोग कोष पनि स्थापना गरेको छ । तर नायक शाहले त्यो सहयोग आफै दिने बताएका छन् । आफुले दिएको सहयोग रकम सम्बन्धीत प्राविधिक कर्मचारीकै हातमा पुगोस् भन्ने उनी चाहन्छन् ।
चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् । आफूले पनि अभावका दिनहरु भोगेर आएकाले उनीहरुको पनि दुख आफुले बुझेकाले सहयोग गर्ने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’