अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्क शहरमा दुई साता लामो ‘लकडाउन’ गर्ने निर्णय बेठिक रहेको बताएका छन् । स्थानीय राजनीतिक नेताहरु र स्थानीयबासीले कोरोनाभाइरसको महामारी अरु बढ्ने चेतावनी दिइरहे पनि राष्ट्रपति ट्रम्पले लकडाउन समस्याको समाधान नरहेको जिकिर गरेका छन् । तर अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले शनिबार नै स्थानीयबासीलाई अत्यावश्यक बाहेक अन्य परिस्थितिमा घरबाहिर ननिस्कन सुझाव दिएको छ ।
राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘न्यूयोर्कमा क्वारेन्टाइनको जरुरत छैन ।’ स्थानीयबासीलाई अन्य राज्य र शहरको भ्रमणमा जाँदा वा न्यूयोर्क प्रवेश गर्दा क्वारेन्टाइनमा राख्नुपर्दछ भन्ने चौतर्फी माग गरिए पनि राष्ट्रपति ट्रम्पले यस्तो धारणा नै गलत रहेको दाबी गरेका हुन् ।राष्ट्रपति ट्रम्पले यसअघि अरु राज्यहरु खासगरी फ्लोरिडा राज्यले चिन्ता व्यक्त गरेपछि आवातजावत खुलै राख्नु पर्ने धारणा अघि सारेका हुन् । उनले संवाददाताहरुलाई अति संक्रमण फैलिएको न्यूयोर्क निवासीका कारण छिमेकी राज्य फ्लोरिडामाथि दबाब परेको पनि बताए ।
तर न्यूयोर्कका गभर्नर एन्ड्रु कुमो र न्यूजर्जीका गभर्नर नेड लामोन्टले राष्ट्रपतिको भनाई प्रति तिब्र असन्तोष व्यक्त गरेका छन् । अमेरिकी वित्तीय क्षेत्रमै संकट आउने भन्दै दुबै गभर्नरले मानिसको आवतजावतमा कडाई गर्नु पर्ने बताएका थिए ।त्यसलगत्तै सिडिसीले तत्काल लागू हुनेगरी १४ दिनसम्म अतिआवश्यक परेको अवस्थामा बाहेक तीनवटा राज्यमा यात्रा नगर्न र घरभित्रै बस्न अनुरोध गरे।