चैत १० गतेदेखि मात्र अन्तर्राष्ट्रिय हवाई उडानदेखि लामो दुरीको सवारी सधान सञ्चालनमा रोक लगाउने र अत्यावश्यक बाहेक सबै सरकारी तथा निजी कार्यालयहरु बन्द गर्ने गरी अर्ध–लकडाउनको नीति लिएको सरकारले अकस्मात चैत १० गते नै ११ गतेबाट पूर्णतः देश लगडाउन गर्ने निर्यण गरेसँगै सर्वसाधारण जनतामा केहि असहज भएको छ ।
दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, नुन तेल ग्यास खरिद गरी नराखेकाहरुका लागि समस्या भएको छ । बजार पूर्णतः लकडाउन भएको अवस्थामा कहीँ कतै पनि होलसेल तथा खुद्रा पस तथा विक्री केन्द्रहरु खुल्ला नहुँदा समस्या देखिएको छ ।
तरसरकारले भने देश पूर्णतः लकडाउनको अवस्थामा रहेता पनि अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्था र वितरण प्रणालीमा समस्या नआउने बताएको छ । लकडाउनकै अवस्थामा पनि सरकारी खाद्यान्न तथा आपूर्ति संबन्ध संघ संस्थानहरु र वितरक विक्री केन्द्रहरु खुल्ला रहने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताएका छन् ।
‘लकडाउनको अवस्थामा पनि बजार अभाव हुँदैन । दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज बनाइनेछ,’ सचिव अर्यालले भने, ‘समस्याको घडीमा पनि सरकारले आफ्नो निकायहरुलाई सञ्चालनमा राख्छ । निजी क्षेत्र बन्द भएपनि सरकारले सार्वजनिक खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग लगायतका बिक्री कक्षहरु खुल्ला नै राख्छ ।अर्यालका अनुसार आवश्यक ठाउँहरुलाई हेरी सरकारले अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरुको विक्री केन्द्र स्थापना गरी बजारको आपूर्ति व्यवस्था सहज बनाउने गृहकार्य गरिरहेको छ । लकडाउनलाई मध्यनजर गर्दै सरकारले घुम्ती पसल तथा बिक्री केन्द्रहरु समेत सञ्चालन गर्ने गरी योजना बनाइरहेको अर्यालले बताए ।
बजारमा कुनै पनि दैनिक उपभोग्य वस्तु, ग्यास, तेल, खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन अहिले मन्त्रालयले गृहकार्य गरिरहेको छ । सबै स्थानहरुमा पेट्रोलियम पदार्थको आवश्यक नपर्ने भन्दै सरकारले सिमित क्षेत्रका पम्पहरुबाट मात्र पेट्रोल÷डिजेल वितरण गर्ने योजना बनाएको छ ।योसँगै विषम परिस्थितिमा बजारमा हुन सक्ने कालोबजारी र अनियमिततालाई समेत मन्त्रालय, विभागले सँगसँगै अनुगमन गर्ने र दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।