Meroakhabar .com कोरोनाभाइरसका कारण फ्रान्समा शैक्षिक प्रतिष्ठानहरू ‘कम्तिमा’ आगामी दुई हप्ता बन्द हुने फ्रान्सका एक मन्त्रीले शुक्रबार बताएका छन् । कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसलाई नियन्त्रणमा ल्याउन यस्तो कदम चाल्नु परेको बताइएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको प्रसारलाई निस्तेज पार्न कडा कदम घोषणा गरेका थिए । उनको घोषणामा सोमबारदेखि अर्को सूचना नभएसम्म सबै विद्यालय र विश्वविद्यालय बन्द गर्ने उल्लेख थियो ।
‘विद्यालयहरु सकेसम्म छोटो समयको लागि बन्द हुनेछन्,’ स्वास्थ्य मन्त्री ओलिभियर भेरानले युरोप १ रेडियोलाई बताए । आवश्यकता अनुसार बन्द रहने छन् । यो कम्तिमा १५ दिनका लागि हुनेछ ।’
फ्रान्सको स्वास्थ्य मन्त्रालयले बिहीबार ढिलो जारी गरेको तथ्याङ्कअनुसार कोरोनाभाइरसबाट फ्रान्समा ६१ जनाको मृत्यु भएको र २ हजार ८७८ जना सङ्क्रमित भएका छन् । उनले यस सङ्कटको अवस्थामा पनि मुलुकको अर्थव्यवस्थालाई जोगाउने उपायहरू घोषणा गर्नु भएको छ । I