सरकारले दैनिक उपभोग्य वस्तु सहज र नियमित आपूर्तिको व्यवस्था गर्ने निर्णय गरेसँगै मास्क थप उत्पादन हुने भएको छ।
कोरोना भाइरस (कोभिड) १९० को संक्रमण विश्वभर फैलिरहेको बेला मंगलबार मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा बसेको केन्द्रीय अनुगमन तथा मूल्यांकन समितिको बैठकले बजारमा उपभोग्य वस्तु सहज रूपमा आपूर्तिको व्यवस्था गर्ने सहित तीन बुँदे निर्णय गरेको थियो। उक्त निर्णय अनुसार मास्क नियमित रूपमा आपूर्ति गर्नका लागि आयात तथा उत्पादन वृद्धि गर्ने जिम्मेवारी नेपाल चेम्बरअफ कमर्शले गर्ने भएको छ। त्यसका लागि उद्योगी दिपक मल्होत्राको नेतृत्वमा एक उपसमिति गठन गरिएको छ।
उपसमितिले हाल माक्स आयात नगरी उत्पादनमै जोड दिन लागेको छ। मास्क उत्पादनका लागि छिमेकी मुलुक भारतबाट मेसिन तथा आवश्यक कच्चा पदार्थ ल्याउन लागिएको राम थापाले जानकारी दिए। उनकाअनुसार अहिले १ सेट मेसिन ल्याउन लागिएको छ। उक्त मेसिनको क्षमता हप्तामा ५ लाख पिस माक्स उत्पादन गर्न सक्छ। मेसिनको मूल्य भने ५० लाख पर्ने छ।
‘मेसिन आएको एक हप्ता भित्रमा बजारमा माक्स पठाउछौँ,’ मल्होत्राले भने, हाम्रो लागत प्रतिपिस ४ देखि ५ रूपैयाँ पर्ने देखिन्छ। हामी फाइदा नराखी लागत मूल्यमा नै बेच्छौं।’ अहिले फ्याक्ट्री नै सञ्चालन गरेर माक्स उत्पादन गर्न असम्भव भएकाले गार्मेन्ट उत्पादन गर्ने गोथेरा इन्डष्ट्रिजबाट माक्स उत्पादन गर्न लागिएको मल्होत्रा बताउँछन्।
‘फ्याक्ट्री सञ्चालन गर्न जग्गा चाहियो, जनशक्ति चाहियो। त्यो अहिले तत्काल सम्भव नभएकाले त्यहाँ मेसिन राखेर उत्पादन गर्न लागिएको हो,’ मल्होत्राल भने। उनकाअनुसार माक्समा कालो बजारी नहोस् भन्ने उद्देश्यले चेम्बरका सदस्यले ठाउँ–ठाउँ स्टल राख्ने चेम्बरको तयारी छ। तर यस विषयमा अर्थमन्त्रालयसँग छलफल गर्न बाँकी रहेको मल्होत्राले बताए।