रत्नपार्क जानु छ भने आफ्नो क्षमताअनुसार रत्नपार्क जाने विभिन्न विकल्प हुन सक्छन्, तर गलत बाटो गए रत्नपार्क पुगिन्न । किनकि रत्नपार्क जान रत्नपार्क जाने बाटो नै हिँड्नुपर्छ ।
जब मानिस सपना देख्छ तब ऊ आफ्नो यथास्थितिबाट बाहिर निस्कन्छ र लक्ष्य प्राप्तिका लागि मेहनत गर्न सुरुवात गर्छ । आजको समयमा सफलता कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा कतै लुकेको पनि छैन । हाम्रै आँखा अगाडि यस्ता मानिसहरू थुप्रै छन् जसले जीवनमा ठुलो सपना बोके अनि त्यो सपना प्राप्त गर्न संघर्ष गरे र त्यसलाई साकार परेर देखाए । यदि ती व्यक्तिहरूको जीवन अध्ययन गर्ने मात्रै हो भने पनि हामीलाई आफ्नो लागि सफलताको बाटो कोर्न त्यति मुस्किल हुनेछैन । प्रकृतिले पनि विभिन्न तरिकाबाट हामीलाई सिकाई नै रहेको छ । जब मानिस धेरै घण्टाको उकालो चढेर पहाडको टुप्पोमा पुग्छ र त्यहाँ बाट जुन दृश्य देख्छ, सम्भवतः त्यसले उसको बाटोको कठिनाइ, परिश्रम, असफलता सबैलाई बिर्साएर अकल्पित आनन्द दिन्छ । त्यही नै उसको पुरस्कार हो, सफलता हो। हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ । जसरी खाना मीठो बन्नको लागि धेरै चिजहरूको आवश्यकता पर्छ त्यसरी नै सपनादेखि सफलतासम्म पुग्नका लागि पनि थुप्रै चिजको आवश्यकता पर्छ । सदैव याद राख्नुहोला, जसको सपना हुन्छ, त्यसलाई पुरा गर्ने आँट र साहस धैर्यता र निरन्तर मेहनत हुन्छ उसले नै सपना पूरा गर्छ, किनकि जसले सपना देख्छ त्यो सपना पूरा गर्ने जिम्मेवारी पनि त्यही व्यक्तिकै हुन्छ ।