बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गइरहेको छ । कोरोनाविरुद्धको खोपलाई तीव्रता दिएसँगै बेलायतमा संक्रमण दर र मृत्यु दरमा उल्लेखनीय परिवर्तन आएको थियो । केहि स्थानमा ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्ला दिनमा संक्रमण दरमा वृद्धि हुँदै गइरहेको हो । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भएपनि हाल संक्रमित संख्या ६ हजार भन्दा बढी हुन थालेको छ । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा ६ हजार ४८ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै बेलायतमा कुल संक्रमितको संख्या ४५ लाख २८ हजार ४४२ पुगेको छ । अघिल्ला केहि दिनमा संक्रमित संख्या ६ हजार भन्दा कम रहेको थियो ।२४ घन्टामा १३ जना संक्रमितको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । अघिल्लो दिन एकजनाको मात्र मृत्यु भएको थियो । योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख २७ हजार ८५४ पुगेको छ ।