दुई वर्षदेखि भूमिगत हिंसात्मक राजनीति गरिरहेका चन्द नेकपाका महासचिव नेत्रविक्रम चन्द आज सार्वजनिक भएका छन् । सरकारसँग चन्द नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेपछि चन्द काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित सम्झौता समारोहमा सहभागी भएका हुन । समारोहलाई सम्बोधन गर्दै महासचिव चन्दले स्वाधिन र स्वतन्त्र देश बनाउने चाहना अनुरुप शान्तिपूर्ण राजनीतिमा आएको बताए । नेपाल शान्ति युगमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै प्रकारको हिंसात्मक द्वन्द्वको नरहेको बताए । उनले प्रहरी हिरासतमा रहेका चन्द नेकपाका नेता कार्यकर्तालाई प्रक्रिया पुर्याएर रिहा गर्दै जाने प्रतिवद्धता जनाए । समारोहमा सरकारसँग भएको तीन बुँदे सम्झौतामा गृहमन्त्री रामबहादुर थापा र चन्द नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरे । सहमतिपत्रमा चन्द समूहमाथिको प्रतिबन्ध फुकुवा गर्नुका साथै पक्राउ परेका सबैलाई रिहा गर्ने र मुद्दा खारेज गर्ने उल्लेख गरिएको छ । सरकारसँगको सहमतिसँगै भुमिगत हिंसात्मक राजनीति गरिरहेको नेकपा चन्द समुह खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको छ । सरकारले २०७५ साल फागुन अन्तिम साता गैरराजनीतिक क्रियाकलाप सञ्चालन गरेको, हिंसात्मक बाटो लिएको आरोप लगाउंदै चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो ।