जनकपुर, ९ साउन: कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं–२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजमा एक र पर्साको सदरमुकाम वीरगञ्जका एक जनाको मृत्यु भएपछि कोरोना समुदायमै फैलियो कि भन्ने भय जनमानसमा परेको छ ।
यस प्रदेशमा कोरोना सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको छ । अहिलेसम्म चार हजार ३२१ जना सङ्क्रमितमध्ये दुई हजार ८८० जना उपचार गराइ घर फर्किसकेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा राजविराजका ७३ वर्षीय वृद्धको यही साउन १ गते मृत्यु भएको थियो ।