मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घर बाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् ।
कोरोना भाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाई छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो । मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युत गृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन् ।