मानिसको जीवन जन्मदेखि मृत्युसम्मको यात्रा हो । कसैले चाहोस् वा नचाहोस् कालगतिले मरियो भने सबैले बच्चादेखि वृद्घावस्थासम्मको कालखण्ड भोग्नैपर्छ । चाहे धनीको होस् वा गरिबको गहिरिएर सोच्ने हो भने मानिसको जीवन केवल सुखको खोज हो । यसो गरेर हुन्छ कि उसो गरेर हुन्छ कि । यो पाएपछि हुन्छ कि त्यो पाएपछि हुन्छ कि भन्दाभन्दै मानिसले आफ्नो जीवन बितेको पत्तै पाउँदैन । कति मानिस सुखको अनुभूति गरेर मर्छन् यो रहस्यकै विषय हो, तर दु:ख छैन भन्ने मान्छे भेट्नचाहिँ मुस्किलै पर्छ ।आफ्नो ज्ञान, शिक्षा, सीप र क्षमताअनुसार जीविकोपार्जनका लागि मानिसले अनेक कर्म गर्छ ।
धन, नाम, इज्जत कमाउने हेतुले मानिसहरू आफ्नो जन्मथलो छाडेर सुगम र विकसित ठाउँमा अस्थायी वा स्थायी रूपमै पनि बसाइँ सर्छन् । एकै ठाउँमा बस्छु भनेर कसैले सुख पाउँदैनन् र एकै ठाउँमा कोही पनि बसिरहन पनि सक्दैनन् । नयाँ ठाउँको भ्रमणबाट मानिसले नयाँ–नयाँ ज्ञान र चेतनाको निर्माण गरिरहेको हुन्छ । कुनै नयाँ ठाउँको यात्रापछि कोही पनि मानिस उस्तै रहनै सक्दैन । नयाँ ठाउँ, नयाँ मानिस, नयाँ स्वाद, नयाँ परिवेशले मानिसलाई बेग्लै अनुभूति गराउँछ । जीवनमा अनेक समस्या आउँछन् जान्छन् तर कतिपय मानिसलाई जहाँ गए पनि समस्या उही त हो, पीर उही त हो, कतै जाँदैमा के हुन्छ र यात्रा गर्दैमा के नै हुन्छ र भन्ने लाग्ने सक्छ।
स्वच्छ हावापानी र प्राकृतिक रूपले सुन्दर ठाउँको यात्राले शरीरमा बेग्लै स्फूति भरिदिन्छ । एकै दिनको भए पनि पदयात्रामा निस्कँदा बेग्लै रोमाञ्चकता प्राप्त हुन्छ । कहिलेकाहीं सुरक्षित स्थानमा एक्लै पनि यात्रा गर्न सकिन्छ । एक्लै यात्रा गर्दा मनमा आउने अनेक भाव र सोचले आफैंलाई बुझ्न मद्दत गर्छ, आफ्नै जीवनलाई केलाएर हेर्ने फुर्सद पाइन्छ ।