मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज पनि एकैदिन १६ चार्टर्ड उडान भएका छन् । अन्तरराष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ यात्रु उद्धार तथा कार्गो उडान भएका विमानस्थल कार्यालयले जनाएको छ । अन्तरराष्ट्रिय उडानबाट मात्रै ९२१ यात्रु नेपाल फर्किएका छन् ।
उनीहरुमध्ये अधिकांश विदेशमा अलपत्र परेर स्वदेश फर्किएका नेपाली हुन् । यसअघि यही असार ५ गते पनि एकैदिन अन्तरराष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएका थिए ।
विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेका छन् । आज नेपाल एयरलाइन्सले सर्वाधिक चार, हिमालय एयरलाइन्सले दुई, जजीरा एयरले दुई र फ्लाइट दुबईले समान दुई उडान गरेका छन् ।