काठमाडौं, जेठ ३१ । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।
साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको सार्वजनिक प्रतिबद्धता र कोरोनाको बढ्दो सङ्क्रमणको पृष्ठभूमिमा हाल जारी प्रदर्शनलाई केही दिनका लागि स्थगन गरेर सरकारले वाचाअनुरूपका काम गरे÷नगरेको मूल्याङ्कन गर्न आम नागरिकलाई अपिल गरिएको छ ।