जिल्ला अदालत रुकुमले चौरजहारी हत्याकाण्डमा अनुसन्धानका लागि पक्राउ परेका चौरजहारी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल सहित १८ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएको छ ।
पश्चिम रुकुम चौरजहारी हत्याकाण्डमा संलग्न भएको आरोपमा उनीहरु पक्राउ परेका हुन । रुकुम पश्चिम चौरजहारीमा प्रेमिकालाई भगाउन आएका युवाहरुलाई चैत १० गते घेरा हालेर हत्या गरी भेरी नदीमा बगाएको आरोप लागेको छ । जाजरकोटका नवराज विक र मल्ल थरकी युवतीबीचमा प्रेम सम्बन्ध रहेको थियो ।
परिवारको सहमति नभएपछि विक १८ जना साथीसहित युवती लिन पुगेका थिए । उनीहरुलाई चौरजहारीबासीले लखेटदा ६ जना युवाको ज्यान गएको थियो । गाउँलेहरुले जातीय विभेदका आधारमा हिंसा गरेको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ ।