धर्तीका मानिसहरूले आफ्नो प्रेमलाई अस्वीकार गरेपछि उनीहरू यो धर्ती नै छाडेर उडेर माथि जुनमा गएर पिरती लगाउने कुरा गर्छन् । धर्तीमा फूल बनेर बस्दा बास्ना हराएको, खोली बनेर बस्न खोज्दा खोलामा पानी नै सुकेको उनीहरूको दु:खेसो हुन्छ । मान्छे र मान्छेहरूको छाया झुटो भएको र आफ्नो मूल हराएको, धुन हराएको, दु:ख सुनिदिने दैव पनि नभएको उनीहरूको गुनासो हुन्छ । अनि फेरि उनीहरू माथि जुनमा नै उडेर जाने कुरा गर्छन् । धर्ती छाडेर जाने कुरा गर्छन् ।
आज नवराज विक भाइ उडेर जुनमा गएका छन्, तर एक्लै । उनी आफ्नो प्रेमिकालाई धर्तीमै छाडेर बसाइ सरेर गएका छन् । उनको प्रेमिकासँग बसाइ सरेर जाने सपना आखिर सपना नै भएको छ । उनले जुनतर्फको यात्रा एक्लै गरेका छन् । शायद गाउँ छाडेर जाने अन्य दाजुभाइजस्तै आफ्नो मनको मायालु, मुटुको टुक्रालाई सँगै लिएर जाने उनको संकल्पमा यतिखेर पूर्णबिराम लागेको छ । हार्दिक बधाइ भन्न तयार परेका उनका साथीहरू एकाएक हार्दिक श्रद्धाञ्जली भन्न बाध्य छन्, बुहारी नानीको हातको तातोपानी पिउने आशा बोकेकी नवराजकी आमाको शरीर तातो आँसुमा डुबेको छ ।
मुना मदनको प्रेम कथा लेखिएजस्तै अब नवराज विक र उच्च जातकी नानीको प्रेम कथा लेखिनुपर्छ । माया त आखिर माया हो । मुनाको होस् कि मदनको, नवराज विकको होस् कि ठकुरीको छोरीको । हो, माया त आखिर माया हो । माया मात्र हैन, रगत रातो हो । फेर्ने हावा अक्सिजन हो। मुटु उस्तै हो, आँखा उस्तै हो । सबथोक उस्तै हो । फरक यही हो, यो निर्दयी समाज अनि यही समाजले स्थापित गरेका कथित उचनिचका मान्यताहरू । आफ्नो प्रेमको जित र हारका लागि अझै कति जवानको बाजी थाप्नु पर्ने हो, किनकी यहाँ ज्यानकै बाजी थापेर पनि एउटा प्रेम हारेको छ । जुठो भएको छ ।