झापा, १६ जेठ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी कचनकवल गाउँपालिका नागरिकमा कोडिभ–१९ का संक्रमण भेटिएको छ । जिल्लामा रहेका ७९ संक्रमितमध्ये ७३ कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका अनुसार बिहीबार मात्र कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा २५ जनामा थप कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि ४८ सक्रमित पुष्टि भई उनीहरुलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो । पालिकाका अध्यक्ष अञ्जार आलमले बिहीबार पुष्टि भएका २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको बताए ।
उनले संक्रमित हुनेमा सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएर फर्किएको बताए । उनले भने, ‘जति पनि संक्रमित पुष्टि भएका छन्, उनीहरु सबै क्वारेन्टिनमा बसेका हुन् । सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टिनमा राख्दा थप समुदाय संक्रमित हुनबाट जोगियो ।’
उनका अनुसार पालिकाभित्रका छ क्वारेन्टिनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो । जसमध्ये ७३ को रिर्पोट संक्रमित पुष्टि भइसकेको छ भने ३५ जनाको रिर्पोट आउन बाँकी रहेको उनको भनाइ छ ।