कपिलवस्तु, १० जेठ : बाणगङ्गा नगरपालिकामा आठ कोरोना सङ्क्रमित थप भएका छन् । नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । अहिलेसम्म १४ जना पुगेका छन् । नगरपालिकामा अहिलेसम्म आइसोलेशन वार्ड नहँुदा सङ्क्रतिलाई व्यवस्थापन गर्न कठिनाइ भएको छ ।
बाणगंगाका सङ्क्रमितलाई अहिलेसम्म क्वारेन्टाइनमै राखिएको नगर प्रमुख मङ्गलप्रसाद थारुले बताउनुभयो । बाणगंगा नगर स्वास्थ्य प्रमुख ठगप्रसाद पौडेलले कोरोना सङ्क्रमितलाई सिद्धार्थ क्याम्पसमा बनाइएको छुट्टाछुट्टै क्वारेन्टिनमा राखिएको बताउनुभयो ।
कपिलवस्तुमा आज पुष्टि भएका आठ कोरोना सङ्क्रमितमध्ये एक वडाध्यक्ष र एक महिला पत्रकार हुनुहुन्छ । मन्त्रालयले शनिबार पुष्टि गरेका ३२ सङ्क्रमितमध्ये कपिलवस्तुका आठ छन् । यससँगै जिल्लामा कोरोना सङ्क्रमित ७७ जना पुगेको कपिलवस्तु जिल्ला अस्पातालका कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । बाणगङ्गा नगरपालिकाका ४० वर्षीय वडाध्यक्ष र अर्का वाणगंगा ६ का २७ वर्षीय पत्रकार रहेको थापाले जानकारी दिनुभयो ।