नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारवाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरुलाई अनुसन्धान र कारवाहीको दायरामा तानिएको हो ।
सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अभियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठह¥याइ कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अनियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।
उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै रु एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ