काठमाडौं, ३१ वैशाख । सरकारले भोलिबाट लागु हुनेगरी लकडाउन कडा गर्ने भएको छ । कोरोना भाइरसका संक्रमित देशैभर देखिनथालेपछि लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
१ जेठबाट लागु हुने गरी पुराना पास सबै रद्द हुनेछन् । नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।
हिजो एकै दिन किर्तिमानी ८३ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कडा गर्न निर्देशन दिएपछि गृहले तत्काल कडा कदम चाल्ने टुंगो लगाएको हो । जुन भोलिबाट लागू हुनेछ ।
अब एउटा जिल्लाबाट अर्को जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनिवार्य अनुमति लिनुपर्नेछ । सञ्चालन हुनपाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।
गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ । अत्यावश्यकलाई मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइनेछैन ।