काठमाडौं, ३० वैशाख । सरकारले १ जेठबाट लकडाउन झन कडा गर्ने भएको छ । एकै दिन किर्तिमानी ५७ जना कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले लकडाउनमा कडाई गर्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आजको मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए । उनले गृहमन्त्री रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादलसँग लकडाउनलगायतका विषयमा जानकारी लिएर निर्देशन दिएको बुझिएको छ । गृहमन्त्रीलाई लकडाउनमा अझ कडाई गर्नुपर्ने आवश्यकता औल्याउँदै निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।
प्रधानमन्त्रीको निर्देशन लगत्तै सरकारले लकडाउन झन कडा गर्ने नीति बनाएको छ । गृह मन्त्रालयका अनुसार जेठ १ बाट लकडाउन कडाई हुनेछ । यसअघि जारी पासहरु रद्द हुनेछन् । पासहरु दुरुपयोग भएको तथ्यसहित खेबरहरु आएपछि सरकार रद्द गर्ने निर्णयमा पुगेको बुझिएको छ ।