काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली लकडाउन लम्ब्याउने टुंगोमा पुगेका छन् । उनले नयाँ मोडालिटी लकडाउन लम्ब्याउने प्रस्तावबारे छलफल गरी टुंगो लगाएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्चस्तरीय समन्वय समितिसँग छलफल गरेपछि नयाँ मोडालिटीका साथ लम्ब्याउने निष्कर्षमा पुगेका उनले मन्त्रिपरिषदबाट भोलि निर्णय गराउने भएका हुन् ।
कोभिड १९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री इश्वर पोखरेलसहित सदस्यहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिएको बुझिएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले केही खुकुलो पारेर जानुपर्ने सुझाव दिएका थिए । अन्य मन्त्रीहरुको पनि यस्तै सुझाव थियो । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने रोकथामका लागि अझै लकडाउन कडा बनाउनुपर्ने नत्र जोखिम बढ्ने प्रस्ताव गरेको स्रोतले बतायो ।
मोडालिटीको खाकामा छलफलपछि टुंगोमा पुगेकाले भोलि मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णायक प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने भएका छन् । मोडालिटीको खाकालाई प्रधानमन्त्री समक्ष टेबुल गरी छलफल भएको थियो ।