काठमाडौं, २१ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु प्रसाद पौडेलले यही बैशाख २५ गते बस्ने पार्टीको स्थायी कमिटीको बैठकमा कसैले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा नमाग्ने स्पष्ट पारेका छन् । बरु, उक्त बैठकमा सरकारको कामकारबाहीलाई लिएर आलोचना हुनसक्ने तर प्रधानमन्त्रीको राजीनामा कसैलेपनि नमाग्नेबारे आफू विश्वस्त रहेको पौडेलको भनाई छ। वर्तमान प्रधानमन्त्री ओली र उनी नेतृत्वको सरकार सफल भएको पनि दाबी गरे । उनले प्रश्न गरे-“यो सरकार सफल नभएको भए जनताले र आम कार्यकर्ताले यसरी साथ दिन्थे त ?”
सरकारमा केपी ओली रहिरहनुपर्छ भन्ने कुरामा कसैको पनि विमति नरहेको पनि पौडेलको जिकिर छ । उनले भने-“कसैको पनि विमति छैन् । हस्ताक्षर गरेको चर्चा मैले पनि सुनें । तर, मैले हस्ताक्षर देखेको छैन् । र, प्रधानमन्त्रीलाई हटाउनको लागि हस्ताक्षर गर्यो वा आँट र दुस्साहस गर्यो भन्ने मलाई लाग्दैन् ।”
उनले पार्टीभित्रबाट प्रधानमन्त्री र अध्यक्षबाट ओलीको राजीनामा भनेर कसैले पनि त्यो भावका साथ प्रश्न नगरेको जिकिर गरे । उनले भने-“राजीनामा भन्दैमा त्यो भाव राखेको थिएन् । त्यो सम्भव पनि थिएन । र आवश्यकपनि छैन् । न राजीनामा आवश्यक थियो, न राजीनामा सम्भव थियो । न राजीनामाले देश र जनतालाई सकारात्मक योगदान दिनेवाला थियो । त्यसकारणले आवश्यकपनि नभएको, सम्भवपनि नभएको, उपयुक्तपनि नभएको राजीनामाको प्रसंग कहीँ कसैले त्यो शब्द प्रयोग गर्नुभएको थियो भने राजीनामा गराउने उद्देश्यका नभएको बताए ।