एजेन्सी, २० बैशाख। विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस हाल ३४ लाखभन्दा बढी मानिसमा संक्रमण भएको छ । अहिलेसम्म यो भाइरसका कारण विश्वभर २ लाख ३९ हजार ५९२ जनाको ज्यान गइसकेको छ ।
कतिपय विकसित मुलुकले कोभिड १९ अर्थात कोरोना भाइरसको औषधि पत्ता लगाएको दावी गरे पनि यसको निराकरण गर्ने औषधि ठोस रुपमा कुनैपनि मुलुकले पत्ता लगाउन सकेका छैनन् । यही क्रममा चीनका अनुसन्धानकर्ताहरुले भने कोरोना भाइरसका सम्बन्धमा नयाँ तथ्य फेला परेको दावी गरेका छन् ।
उनीहरुले कोरोना भाइरस निको भइसकेका भनिएका व्यक्तिहरुमा पनि धेरै समयसम्म फोक्सोमा यसको भाइरस रहिरहने उनीहरुको दावी छ । अनुसन्धानको क्रममा उनीहरुले अस्पतालबाट निको भएर आएका एक बिरामीको साढे दुई महिनापछि पुन पोजिटिभ देखिएको तथ्यबाहिर ल्याएका छन् ।
निको भएर घर फर्किएका कोरोना भाइरस संक्रमित दक्षिण कोरिया, भियतनाम र चीनमै पनि पुन: पोजिटिभ देखिरहेको अवस्थामा अनुसन्धानकर्ताहरुले यो दावी गरेका हुन् । चिनिँया अनुसन्धानकर्ताहरुका अनुसार कोरोना फोक्सोमा लामो समयसम्म रहिरहन सक्छ । सामान्यरुपमा नमुना लिँदा कोरोना भाइरस लुकेको हुनसक्ने देखिन्छ ।
चीनको एक आयुर्वेदिक विश्वविद्यालयका शोध प्रमुख कोरोना संक्रमित एक ७८ वर्षीया वृद्धालाई ३ पटकसम्म कोरोना भाइरस नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरेको थियो । तर केही समयपछि ती महिलामा फेरि कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।