काठमाडौं, १९ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्ना छोरी ज्वाइँलाई फेरी अर्थ मन्त्रालयमा काजमा झिकाएका छन् । नेपाल राष्ट्र बैंकका रामशरण खरेललाई यसअघि मन्त्री बनेकै दिन बैंकको विराटनगर कार्यालयबाट सोझै सिंहदरबारमा काजमा ल्याएका थिए
गत असार तेस्रोसाता ज्वाइँलाई राज्यमन्त्री सरहको हैसियतमा सल्लाहकार बनाउने प्रस्ताव लैजानुअघि सल्लाह गर्ने क्रममा प्रधानमन्त्रीले ठाडै हकारेपछि खरेललाई रातारात राष्ट्र बैंक फर्काइएको थियो । बैंकका अधिकारीहरूसमेत पूर्व जानकारी बिना उनको फिर्ताप्रति त्यसबखत आश्चर्य चकित भएका थिए ।
अर्थमन्त्रालय स्रोतकाअनुसार आगामी आर्थिक वर्षको बजेट तयारीको लागि भन्दै मन्त्रीले ज्वाइँलाई बोलाइएका हुन् । ‘कलम नचल्ने, मुख मात्र चल्ने’ खरेलको क्षमताबाट विगतमा आजित भएका मन्त्रालयका कर्मचारी फेरी निधार समाउन थालेका छन् । विगतमा सल्लाहकारको दर्जा दिइएपनि खरेलको काम मन्त्रीलाई चुक्लि लगाउने मात्र रहेको एकजना उपसचिवले हाकाहाकी बताएका छन्।
अहिलेको महामारीमा व्यक्तिगत सुरक्षाको मापदण्ड अपनाएर कर्मचारीले कार्यालयको काम गर्नुपर्ने अवस्था छ । लकडाउनको अवधिमा पनि अर्थका अधिकांश महाशाखामा अत्यावश्यक काम भइरहेका छन् । त्यसमध्ये बजेट महाशाखामा सबै कर्मचारी बजेटको खेस्रामा जुटिसकेका छन् ।
सरोकारवाला निकायबाट आवश्यक तथ्यांक र जानकारी प्राप्त भइरहेको छ । यस्तो अवस्थामा अनावश्यक ढंगले ज्वाइँलाई मन्त्रालयमा ल्याएर साँढे बनाउनुको कुनै अर्थ नभएको महाशाखाकै कर्मचारी गुनासो गर्छन् । खतिवडाले ज्वाइँको व्यक्तिगत विवरणमा विगतका दुुई वर्षझैँ यो वर्षको बजेट निर्माणमा पनि संलग्न भएको व्यहोरा उल्लेख गर्नका लागि मात्र पुनः अर्थ मन्त्रालयमा झिकाएको स्रोतको दाबी छ ।