काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष छोडन तयार भएका छन् । पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष छोड्नेगरि ओलीले सहमतिको तयारी गरेको स्रोतको दाबी छ । पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक संघर्ष चुलिँदै गएको छ । दल विभाजन र संवैधानिक परिषदसम्बन्धीका दुई अध्यादेश खारेजीसँगै नेकपाभित्र उनको विकल्प खोज्ने प्रयासस्वरुप मोर्चाबन्दी भएको छ ।
प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउनुपर्ने तयारीमा शीर्ष नेताहरु नै लागिपरेको थाहा पाएपछि ओली समूहले नेता नेपालसँगको छलफल र भेटवार्तालाई तिव्रता दिएको छ । अध्यादेश खारेजीसँग प्रधानमन्त्री ओलीको सक्रियता झनै बढेको छ । उनले आफूविरुद्धको मोर्चाबन्दीलाई परास्त पार्नको लागि चार जना सचिवालय सदस्यहरुसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट परास्त गर्न नेता नेपाल समूहले चाल्ने हरेक कदममा आफ्नो साथ र सहयोग रहने पनि प्रचण्डले नेता नेपालसँग विश्वास दिलाएका छन् । तत्काल प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाउन सकिएपनि पार्टी र सरकारमा ओलीको दबदबा कम हुने दाहालको विश्वास छ । रिपोटर्सक्लबनेपालको अनलाइन दैनिकमा यो खबर छ ।