काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद गरिहिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको छ । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको खुलासा भइसकेको छ ।
ओली कुनै हालतमा सत्ता सजिलै छाड्ने पक्षमा छैनन् । उनले हिजो उपाध्यक्ष वामदेव गौतमसँगको चर्काचर्कीमा देखाइदिने सम्मको धम्की दिने । उनले अविश्वासको प्रस्ताव ल्याएमा सामना गर्ने भनेपछि संकट सहजै पार नलाग्ने देखिएको छ ।
नेकपाभित्र संसदीय दलमा केपी शर्मा ओलीको अझै बहुमत रहेको उनी पक्षधरले दाबी गर्दै आएका छन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । उनको पक्षमा ईश्वर पोखरेल मात्र खुलेर लागेका छन् । तर, अन्तिम टुंगो केन्द्रीय कमिटिले लगाउनसक्छ । केन्द्रीय कमिटिमा कसैको बहुमत छैन । माधवकुमार नेपालले जसलाई साथ दिन्छन् उसैको पल्लाभारी हुन्छ ।
ओलीले बजेटपछि माधव नेपाललाई छाड्ने प्रस्ताव गरेको स्रोतले बताएको छ । प्रचण्डले भने आफू एकमात्र पार्टी अध्यक्ष बन्ने सर्तमा छाड्न तयार देखिएका छन् । तर, अध्यक्षको दाबी झलनाथले पनि गरेबाट कुरा मिलाउन कठिन छ । झलनाथले कुनै पद नपाएमा समर्थन नगर्ने सम्भावना रहन्छ । त्यतिबेला ओलीलाई राहत पुग्न सक्छ ।
अहिले पाँचजना प्रभावशाली नेताहरु पार्टीमा प्रभाव बनाउन राजनीतिक अस्त्र र शर्तहरुसहित प्रस्तुत भएका छन् । ओलीलाई हटाउँदा कसले के पाउने सम्मको कुरा भइसकेको बुझिएको छ । माधव नेपाल प्रधानमन्त्री बनेमा वामदेवले राष्ट्रियसभा सदस्यसहित उपप्रधानमन्त्री तथा गृहमन्त्री पाउने गरी कुरा मिलेको बुझिएको छ । विष्णु पौडेल र भीम रावल पनि सरकारमा सामेल हुन पाउनेछन् । तर, झलनाथको पनि पार्टीमा मुख्य पदको दाबी रहेको स्रोतले बतायो ।
प्रचण्डको एकमात्र अध्यक्ष बन्ने रणनीति एकातर्फ छँदैछ । माधव नेपाल प्रचण्डलाई सिंगो पार्टीको बागडोर दिएर प्रधानमन्त्री बन्न तयार छैनन् । यसकारण उनले ओलीसँग सम्झौता गरेर अध्यक्ष उनलाई नै छाडेर प्रधानमन्त्री बन्ने सम्भावना पनि रहेको छ । तर, ओली माधवलाई थमथमाएर सत्ता टिकाउने कसरत गरिनै रहेका छन् ।