प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गरेका छन् ।कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो भन्दै उनले भयावह महामारीका कारण नेपालमा खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न नचाहेको उनले बताए ।
अन्तरवार्ताका क्रममा ओलीले भनेका छन, लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो ।’
प्रधानमन्त्री ओलीले भनेका छन्–‘मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ ।’
लकडाउन लम्बिँदै जाँदा मजदूर, श्रमिक र अन्य बेरोजगारहरु काठमाडौँबाट गाउँ जान वा भारतबाट स्वदेश फर्कने क्रममा लामो पैदलयात्रा तय गर्नुपरेको कष्टपूर्ण दृश्य देखिएमा छिटो माध्यमबाट सम्बन्धित निकायमा सूचना दिन पनि प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
‘हामी भारतको सङ्क्रमणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ । सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनबाट बच्ने हो’ उनले भने, ‘ नेपाल सरकारले मानवीय मूल्य र तिनको जीवनरक्षालाई पहिलो प्राथमिकता दिएको छ, यसमा हामी राजनीति गर्दैनौँ, अर्थतन्त्रको नाफाघाटा हेर्दैनौँ, नेपाली जनता, मानव र नागरिक बचाउनेतिर मात्र हाम्रो ध्यान छ । यसबाट कसैको ज्यान नजाओस् र बिरामीले राम्रोसँग उपचार पाओस् भनेर पहलहरु गरेका छौँ । लकडाउन पनि त्यसैको उपज हो ।’
यद्यपी, कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएकाले लकडाउन लम्ब्याउने वा अन्य विकल्प रोज्ने भन्नेबारे बहस भइरहेको छ । ग्रोप्य स्रोतका अनुसार बैशाख १५ सम्म रहेको लकडाउन बैशाख २२ सम्म पुर्याउने गरी छलफल भइरहेको छ । भारतमा लकडाउन लम्बिए नेपालमा पनि लम्बिने अनुमान गरिएको छ ।