कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाई गर्ने भएको हो । समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ संक्रमण रोकथात तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सचिव नारायण प्रसाद विडारीले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय भएको बताएका छन् ।
यस्तै संक्रमणको संख्या बढेकोले बढी भन्दा बढी संख्यामा परीक्षण गरी संक्रमितलाई पहिचान गर्ने र उपचारमा जाने निर्णय भएको समेत उनले बताए । जोखिमको सम्भावना बढी देखिएको स्थानमा परीक्षणलाई बढाउने निर्णय भएको बताए । सचिव विडारीले आन्तरिक उडानलाई समेत वैशाख १८ गते (अप्रिल ३०) सम्म स्थागित गरिएको बताए । यस्तै समितिले संयुक्त राष्ट्र संघ अन्तर्गत अफगानिस्तानमा रहि काम गर्दै आएका नेपाली नागरिकहरुलाई उद्धार गर्ने निर्णय समेत गरेको छ ।
संयुक्त राष्ट्र संघको विशेष अनुरोध रहेकाले उपयुक्त पद्दतिबाट उद्धार गर्ने निर्णय भएको उनले बताए । यसबाहेक बैठकले वीरगंज स्थित नारायणी प्रादेशिक अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गर्ने र आवश्ययक उपकरणहरु थप गर्ने निर्णय पनि गरेको छ । यसबाहेक त्रिभुवन विश्व विद्यालयमा रहेको एक थान पीसीआर मेसिन प्रदेश २ सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत सचिव विडारीले बताए ।