सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कम्युनिष्टलाई लखेट्न जनता उठ्ने संकेत देखिएको बताएका छन् ।
ललितपुरमा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको प्रशिक्षणमा उनले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने चेतावनी पनि दिए ।
‘कम्युनिष्ट नेता नै राजा महाराजा जस्ता हुँदै गएपछि राजा महाराजाकाविरुद्ध लडेका जनता यिनलाई पनि लखेट्नपर्छ भनेर उठ्न सक्छन्,’ प्रचण्डको भनाइ थियो, ‘संकेत चाहिँ कताकता त्यस्तै देखिन थालेको छ ।’
उनले सत्तामा जानुअघि जनतासँग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई बिर्सदै जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने चेतावनी दिए ।
माक्र्सवादलाई अक्षरशः पालना गर्नेभन्दा मार्गदर्शन सिद्धान्तका रूपमा लिन सुझाउँदै उनले कम्युनिष्टमा अनुशासनको स्तर गिर्दै गएको स्वीकारे ।
‘कम्युनिस्टहरुमा वैचारिक विचलन आएको छ,’ उनले भने ‘सामूहिकता भन्दा व्यक्तिगत निर्णयातर्फ केन्द्रित भएको महसुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ ।’